बिचारको तलाउमा
मन मस्तिस्कलाई डुबाएर,
दृश्यावलीका बगैँचामा
नयनहरुलाई डुलाएर,
बस्दाबस्दै अनायशै प्रश्न उब्जिदिन्छ
को हुँ म ?
मलाई कसले चिन्दछ ?
जबकी म आफैँले आफैँलाई चिनिसकेको छैन !
म वायु हुँ ? हैन, म वायु हैन,
मलाई कसले महशुस गर्छ ?
म जल हुँ ? हैन, म जल हैन,
म कहाँ अभिषेक गरिन्छु र ?
म माटो हुँ ? हैन, म माटो पनि,
म बाट को फल्दछ, को फुल्दछ ?
अस्तित्वमा छु भन्न डराईरहेका ओठ
र बाँच्ने प्रमाण पेश गर्न काँपेको मुटु लिएर उभिएको
पक्कै केही त हुँ म !! कोहि त हुँ !!
कतै त छु म !! कहीँ त छु !!
साच्चै,
म त नटिपिएको फूल हुँ,
मेरो सुगन्ध र सुन्दरताको कुनै चर्चा छैन !!
म त नहिडिएको बाटो हुँ,
मेरो गन्तव्य र निरन्तरताको कुनै ठेगान छैन !!
म त नमेटिएको याद हुँ,
मेरो आयु र आयामको कुनै सीमा छैन !!
म कहिँ कतै नपोखिएको भाव हुँ,
मेरो भार र संवेदनाको कुनै मूल्य छैन !!
म धेरैले वास्ता नगरिएको समय हुँ
मेरो गति र आवश्यकताको कुनै बोध छैन !!
चर्चा र ठेगान नभएपनि,
सीमा, मूल्य र बोध नरहेपनि
म नदी हुँ, विना विश्राम बगिरहन्छु !
म सुर्य हुँ, विना आग्रहले उदाउँछु अस्ताउछु !!
बुझ्दै छु मैले,
आश नै सकिए पो जिन्दगी लाश जस्तै हुदोरहेछ !
"धेरै" छैन कि जस्तो लागे पनि, "थोर-थोरै" त प्रशस्तै हुदोँरहेछ !!
- नि:शब्द
भगवान,
तिमीले रङ्गीन उपमा दिएर पठाएको यो दुनियाँ
मलाई रङ्गीन...अहँ लाग्दै लागेन
यहाँ त
सपनाहरु,
इच्छाआकाङ्क्षाहरु सगैँका भविष्य अपहरण हुदाँ रहेछन्
सम्झनाहरु,
यादहरु सगैँका बिगत बन्दीमा राखिदा रहेछन्
बिचारहरु,
सोचाइहरु सगैँको बर्तमान नङ्गाइदा रहेछन्
अनि
तिमीले दिएको यो अमूल्य जीवन
लुट्दा रैछन् ,
चुस्दा रैछन् ,
निचोर्दा रैछन्,
थिचोर्दा रैछन्,
अनि फालिदिदाँ रैछन्
कहिले एउटा खुलेयाम मैदानमा त कहिले एउटा सुनसान चोकमा
हरण गरेको जिन्दगीलाई
यहाँ कुनैपनि सत्यले सत्य सावित गराउन नसकिदोँ रहेछ !
हो भगवान्
यहाँ सत्यको थुप्रोमा झुट केलाउनेहरुको भिड लाग्दो रहेछ !
खै के अभिप्रायले म तिम्रो रङ्गीन दुनियाँलाई रङ्गीन देखुँ
यहाँ फूलको बोटले फूल फुलाउन लाज मान्दो रैछ
यदाकदा फुलाईहाले पनि
भमराको सामिप्यतामा खोट झल्कने रैछ
मालिको अभिभावकत्वमा लोभ पल्कने रैछ
काडाँकै मनशायमा अनायशै भ्रष्टपन सल्किने रैछ
हो भगवान्
यो दुनियाँमा भर्खरै फक्रेको फूल ओइलीन बाध्य बनाइदो रहेछ !
भैगो भगवान्
म यो रङ्गीन दुनियाँमा ती रङ्गहरु भेट्दै भेटिन
जुन रङ्गहरु तिमीले मेरा आखामा भरेर पठाएका थियौ
ती सोच भएकाहरु देख्दै देखिन
जुन सोचहरु तिमीले मेरो मनमष्तिस्कमा भरेर पठाएका थियौ
यहाँ बदल्न खोजिएका बदलिदा नरैछन
बरु बदल्न खोज्नेहरु नै बदलिइसक्दा रैछन
पुग्यो भगवान मलाई पुग्यो
मात्र एउटा विन्ती सुनिदेउ
यो जालीझेली दुनियाँको
कुनै पनि रङ्गले मलाई नरङ्ग्याउदै
तिमीले भरिदिएको रङ्ग भेट्न
अनि त्यस्तै सोच भएका देख्न सकिने दुनियाँमा लगिदेउ न !
भगवान तिमीलाई मेरो एउटा विन्ती ।।।।
यो समयमा
म अन्योलताको भूमरीमा छु
आस्थाले अडिएको बुढो रुखको
भत्किएको गुँडमा छु
माउ छन छैनन थाहा छैन, दाउ र घाउ अनेक छन
साथ छ छैन थाहा छैन, घात र लात प्रशस्त छन
उडी जाने सपना
खै कसरी राखुँ म
गुलेलीका मट्याङ्ग्रा आत्तुर छन्
पखेटा चुँडाईदिन
आफ्नै गुँडमा पनि त
कसरी बसुँ म
कालरुपी सर्प तम्तयार छन्
विषालु दाँतका डाम बसाउन
उडानको निषेध देखि
विश्रामको वन्दीसम्म
शिकारी हुन या सर्प मेरै पछि पछि छन्
हावा, पानी, असिना र चट्याङ्गभन्दा
रिस, डाह, घमण्ड र अहंकार देखि डर लाग्छ
साँच्चै,
एक जुनी आयु आनन्दले विताउन
कति जति श्वास त्रासमा फेर्नुपर्दछ ??
त्यो दिन
सायद, मेरी आमा त्यति धेरै खुसी पनि भैनन होला,
जति खुसि मेरो भाइ जन्मिदा भएकी थिइन !!
रपनि `ए मेरी नानी´ भनेर बीस एक्काइस महिना पश्चात्
मेरी आमाले बोलाउदाँ,
म आवाजबिहिन मुस्कुराए मात्र रे
त्यहि एक दिन थियो कि,
म मुस्कुराउदाँ पनि मेरी आमा हासीँनन् होला सायद ।।।
बीस, बीस महिनासम्म मेरो बोली कुरेर
तातेताते गर्दै मलाई हिड्न सिकाएका मेरा बाका हत्केलाहरु
खुसी भएका थिए होलान् कि नाई ??
जब म मेरा कोमल हातका इशाराले बालाई बोलाउन जान्ने भएकि थिए !!
हजुरबाले
बोत्तलबाट दूध चुसाइरहदाँ
मुखको दायाँबायाँ चुहिएको दुध समेल्न
जिब्रो दायाँबाया डुलाउदाँ,
दुनियाँले माया गरेर
यस्को जिब्रो त भगवानले बनाएकै हुन
हेर्नुस त,कत्ती मिलेको छ नि भन्ने गर्थे रे !!
त्यहि सुनेर फुर्किएका
मेरो आवाजलाई पर्खिएका मेरा हजुरबाका कान,
हिजोआज नजिकै गई कोट्याएर बोलाउनु पर्दा खुसी होलान् कि नाई ??
एक्लै छाड्दा रोइरहन्छे भनेर
निक्कै चाखले मलाई काखमै लिएर मेलापात गर्ने
मेरी हजुरआमाको काख खुसी भए होला कि नाई ??
जब मेरो मुखबाट निस्कने आवाज मात्र रुवाईहसाईको हो भन्ने थाहापाउदाँ !!
अँ..अहिले बल्ल बुझ्दैछु,
साच्चैँ सबै सुन्दर भनिएका बस्तुहरु मात्र मुल्यवान् नहुदाँ रैछन
र अरुको मन दुखाउन नजान्नेहरु आफ्नो मन खुब दुखाउदाँ रैछन् !!
छोरी जन्मीछ भन्दानै हर्षिएका
मेरा जन्मजात वैरीहरु
झन बोल्नै सक्दी रैइन्छे भन्दा त
छाती फुलाएर,
मेरो कारणले चुहिने भएको
परिवारको कमजोर धरातल माथी
पलपल बर्सिएका थिए होलान् ।
तर याद गर्नु धेरै चोट खाएको माटोले झन् बलियो मुर्ती बनाउन सक्छ ।
नभएका हैनन्
छन्,शब्दहरु त मसगँ पनि छन् ,
तर शब्दले कसैलाई चोटहरु नभिराईदिओस्
छन् बाटाहरु त मसगँ पनि छन्
तर बाटाले कहिल्यै गन्तव्य नबिराईदिओस्
छ हिम्मत त मसगँ पनि छ
तर हिम्मतले कदापि डर नढकढकाओस्
छ लक्ष्य त मसगँ पनि छ
तर किन्तु लक्ष्यले क्षमता नटकटकाओस्
त्यसो भैदियो भने,
म मेरी आमाको कोखको खुसि ;
मेरा बाबाको हत्केलाको मेहनत ;
मेरा हजुरबाबाको शुभ श्रवण इच्छा ;
मेरी हजुरआमाको काखको अनमोल ऋणलाई,
त्यहि दुनियाँसामु परिचित बनाएर
एउटा गतिलो सम्मान दिनेछु
र यहि दुनियाँलाई इशाराले मात्र एउटा प्रश्न गर्नेछु
आफ्नो क्षमता देखाउन नसक्ने चिजको क्षमतालाई
उहिल्यै चिनिसकेका
ए सहयोगी मनहरु,
अब मलाई मात्र यो बताईदेउ कि
``म आफ्नो परिचय बोल्न सक्ने भए कि नाई ??´´
तिमी आउनु
खुलेको आकाशसगैँ
निलो स्पष्टता सापटी लिएर
उदाउँदाको सूर्यसँग
सुनौलो वैश पैँचो मागेर
म पनि आउनेछु
प्रकृतिको
प्रफुल्ल भै फुलेको लालिगुराँसको रातो जवानीसितै
सगाँलेर हिमालको सेतो सुन्दरता,
बेफिक्री मै फक्रिएको प्याउलीको पहेँलो उमेरसितै
छोपेर पहाडको हरियो सुगन्ध,
निर्दोश झै तैरिरहेको कमलको गुलाबी जोशसितै
च्यापेर तराईको बैजनी स्नेह,
र
पोको पारेर
कालो बादलको सम्पुर्ण ईष्या केही लोलामा
हामी ढुक्कसाथ मनाइदिउला नी होली
अथाह पुर्णता बोकेर पनि अहमता नभएको
खुलम खुल्ला धर्तीको फराकिलो छातीमाथि
पुरै शरिर रङ्गिने गरेर
त्यतिबेलै तिमीले
नबिर्सीकन नियाल्नु है
यो दुनियाँको अनुहारको रङ कस्तो हुदोँ रैछ ??
किनकी तिमिलाई
बुझाउनु छ,
प्रिय, तिमीले बुझेकै छैनौ
उही रङ-रङ बिचको फरक !!!
पाँच बर्षीय बालिका
आफ्नै अभिभावक बाट
असुरक्षित भएपछि नै हो;
त्यो माछीलाई पानी मन पर्न छाडेको !!
ऊनै फुलमाया दिदीको
सामुहिक रुपमा बलात्कार भएदेखि नै हो
त्यो रानीमौरीले घार छाडेर हिडेको !!
र हिजोआज पुतलीहरु फुलको छेउ जान डराउछन्,
चुपचाप देखिन्छन् ती झ्याउकिरीहरु,
भ्याकुताले ट्वारट्वार गरेर बोलाउन सक्दैन आफ्नो जोडीलाई,
अनि निस्कनै मान्दैन जुनकिरी अध्यारोँ रातमा !!
सर्वश्रेष्ठ,बुद्धिमानी प्राणीको
त्यस्ता,यस्ता,उस्ता
तुच्छ,घटिया,निच
कयौ,धेरै, थुप्रै कुव्यवहारले गर्दा
प्रकृतिमा ठुलो परिवर्तन देखिन थालेको छ,
सायद, अब रातमा जुन उदाउदैन होला ।।
जब सेलाएको थ्यो
दिनभरी बैंशले राप्पिएको त्यो रातो घाम
हिजोअस्ती जसरी नै
त्यो पश्चिमे अटल क्षितिजमा,
त्यतिबेलै जन्मिएको थियो
एउटा नचाहिएको नसम्झन लायक साँझ !!
त्यहि साँझले रचेको थियो
एउटा तितो कहानी;
जतिखेर तिमीले पैंचो लगेजसरी फिर्ता गर्न आएकी थियौ
मलाई मायाको अनमोल उपहार;
जुन अहिले सम्म पनि त्यो साँझ नचाहेरै सम्झिदाखेरी
मेरा गहभरि टिलपिल टिलपिल रमाइरहन्छन
अनि फदालिदिन्छन अनायसै तप्पतप्प
तिम्रो शिरमा राखेर कसम खाएका यी
निर्दोष हत्केलाहरुमा ।
त्यतिबेलै भक्कानिएका थिए तिम्रा मेरा सुन्दर सपनाहरु,
छुट्टिएका थिए तिम्रा मेरा परिचित वाटोहरु,
टुक्रिएको थियो हाम्रो संयुक्त गन्तव्य,
र त
हिजोआजका साँझहरु पनि अजीव लाग्ने गर्छन ।।
हाम्रो सम्बन्धको अतितमा परेड खेलिरहेको
त्यो सिङ्गै रात निदाएपछि नै हो
पुर्वि क्षितिजबाट संसार उठाउदै जन्मिएको,
नचाहेर पनि सम्झिइरहने बिर्सनलायक दिन ।
जतिबेला तिम्रो सिउदो रंगियो,
तेतिबेला मेरो प्रेम बिधवा भैदियो ।।
तिम्रो जिन्दगी जोडियो,
मेरो समय भाच्चीएर टुक्रा टुक्रा भैदियो ।।
मैले देखेथे,
तिमी अन्जानको डोली चढ्दा कापेथे ती पाईलाहरु
जुन रङ्गिएका त थिए तर चङ्गिएका थिएनन ;
ती बचेरा आशुहरुका ढिक्काले चिस्साइरहेका थिए ती गाजलु नयनहरु,
जुन पोतिएका त थिए तर ओतीएका थिएनन;
तर के गर्नु
हर क्षितिजले धोका दिएपछि भुगोलमा प्यारो भन्ने चिजनै नरहदाँ रैछन ।
हेर त निष्ठुरी,
कस्तो बानी पो बस्याछ ,
म असफल भएनी अनुभवी हुन खोज्दैछु !!
साच्ची दिलदेखी चाहेर लाइएका सम्बन्धले नचाहिएका यादहरु छोड्दा रैछन नी है।।
इमान्दारिताको बलेनीबाट
सगाँलेर कमजोरीका केही छिटाहरु,
जिईसकेको जिन्दगीको अभिलेखबाट
अगाँलेर बैरिका अलिकति साथहरु,
श्रीमान,
मलाई चुडाइएको हो
र मलाई चुड्ने प्रिय मनहरुलाई
मेरो तर्फबाट यति त भनिदिन मिल्ला नि है,
'उ चुडिएको हो तर उसको पुन: पलाउने आश चुडिएको छैन !'
निरन्तर पैताला हिड्ने पथमा
उठाएर अवरोधका अग्ला पर्खालहरु,
भविष्य चियाउने बर्तमानको डिलमा
जुटाएर धकेलिदिने अलिकति हातहरु,
श्रीमान्,
मलाई लडाइएको हो
र मलाई लडाउने प्रिय सोचहरुलाई
मेरो तर्फबाट यति त बोलिदिन मिल्ला नि है,
'उ लडेको हो तर उसको फेरि उठ्ने सामर्थ्य लडेको छैन !'
कोमल हृदयको पृष्ठभुमिमा
हिर्काएर बारम्बार अनेकौ प्रहारहरु
सफलताको निर्णायक मण्डलमा
जम्मा पारेर जालझेलि कुरुप अनुहारहरु
श्रीमान्,
मलाई हराइएको हो
र मलाई हराउने प्रिय मतिहरुलाई
मेरो तर्फबाट यति त सुनाईदिन मिल्ला नि है
'उ हारेको हो तर उसको जित्ने सङ्कल्प अझै हारेको छैन !'
तपाईले
यति भनिदिनु भयो भने
यति बोलिदिनु भयो भने
यति सुनाईदिनु भयो भने
श्रीमान,
म छाती फुलाएर भन्न सक्छु
अब उप्रान्त यो कठघराबाट `न्याय´ चिच्याउने छैन ।।
प्रिय शहर,
तलाई अप्रिय श्रदाञ्जली !
तैले मेरा कयौ भ्रुण सपनाहरुको बिभत्स हत्या गरिदिई
मलाई नै समवेदनाको पत्र थम्याएको छस्
तलाई भावपूर्ण श्रदाञ्जली !!
तैले मेरा कयौ शाहसहरुलाई गिरफ्तार गरि
मलाई कायरको दर्जा भिराइदिएको छस्
तलाई हार्दिक श्रदाञ्जली !!!
कठै मेरो गाउँ
म फर्कदा सोध्छ होला
तलाई मैले विश्वासको झोलामा कसक्क बानेर
मेरो छातीमा टेकाई टेकाई पठाएको थिए,
खै त्यो विश्वास अनि
त्यतिका धेरै जिम्मेवारी खै हँ ??
कयौ सपनाहरुको घुईचोमा
तेरो सपनाहरुलाई पनि पुर्णविराम लगाएर,
फर्कने बाचाका साथ उत्साहको लहरमा पठाएको थिए
खै ती सपनाहरु ?
खै ती उत्साह ?
बा-आमाका लाखौ आशिर्वादलाई
सानो थैलिमा पोको पारेर
जतनको साथ लिने भरोसा बोकाएर पठाएको थिए
खै ती वाचाहरु ??
खै ती भरोसाहरु ??
अहँ म भन्नै सक्दीन ,
यी निरुत्तर प्रश्नका उत्तरहरु
र भनुँ पनि कसरी
म त्यी विश्वासको घातक हुँ !
म त्यी जिम्मेवारीको शोषक हुँ !
म त्यी सपनाहरुको हत्यारा हुँ !
म त्यी उत्साहको बाधक हुँ !
म त्यी वाचाहरुको तोडक हुँ !
म त्यी भरोसाको जालिक हुँ !
अनि बा-आमाका कयौँ खुसी आफुसगैँ ल्याएर
मोतिरुपि आँशु वर्षात गराउन
मनमा गडगडाहट ल्याउन मिल्कने
केही पलको प्रकाश हुँ म !!
र मलाई त्यस्तो 'म' बनाउने,
ए ! शहर त नै होस्
ए ! शहर तैले मेरो सबैथोक कुल्चीदिइस
लछारिदिइस्
र मारिदिईस पनि
त मेरो र मेरो गाउँको नजरमा मरीस्
त्यसैले,
ए! शहर तलाई हार्दिक श्रदाञ्जली !!
भावपुर्ण श्रदाञ्जली ।।
गाँउ,
मैले तलाई शहरदेखि खुब सम्झेको छु यार,
तैले मलाई सम्झेको छस् कि नाई ?
यता त
जताततै सडकहरुमा,
हरेक गल्लि-गल्लिहरुमा,
प्रत्येक घर-घरहरुमा,
अध्याँरोलाई अन्याय गरेर साँझ पर्नासाथ बल्छन्
उजेला तर उत्ताउला बत्तीहरु !
यी बत्तीहरुलाई के थाहा,
एउटा कुनामा अडिएर अध्याँरोसँग सहमति गर्दै-गर्दै
त्यता हरेक घरमा बल्ने दयालु टुकीहरुको शालिन चन्चलता !
त्यता त
तैले सुनाउथीस् नी आवाजहरु;
- निभेको आश सल्काउन तल्लिन छुट्टै लय भएका ढुम्रीहरुको,
- आधा पेट पकाईरहेका कसौँडिमा ठोकिएका पनिँउहरुको,
- मेहनत मथ्थेर नतिजा तैराउन रिगिँरहेका मदानीहरुको,
हेर न, यी आवाजहरु
शहरले यतिका दिनसम्म पनि मलाई सुनाउन सकेको छैन ।।
त्यता त बसाँउथे बास्नाहरु;
- निस्वार्थ घर चम्काईरहेका रातो माटो र सेतो कमेरोहरुको,
- गोरेटोको शोभा बढाईरहेका लालुपाते र तारामण्डलहरुको,
- खुसी भर्साएर खुसीले निस्किरहेका बाँफका श्वासहरुको,
साँच्ची यस्ता बास्नाहरु
शहरमा आजका दिनसम्म पनि मैले सुँघ्न पाएको छैन ।।
तँ त आफैमा पूर्ण रैछस् यार !
धनि रैछस् यार !
साँच्ची शहरले हिजोआज
तैले आफ्नो मन कुडाँएर पठाएका 'मन' हरुलाई खुब सम्झिरहेको छ !!
तलाई एउटा प्रश्न सोध्दिनु भनेको छ शहरले
- अब फेरि कहिले पठाउछस् रे ??
(कोभिडको सन्दर्भमा लेखिएको)