कविता :- " म "


बिचारको तलाउमा

मन मस्तिस्कलाई डुबाएर,

दृश्यावलीका बगैँचामा

नयनहरुलाई डुलाएर,

बस्दाबस्दै अनायशै प्रश्न उब्जिदिन्छ

को हुँ म ?

मलाई कसले चिन्दछ ?

जबकी म आफैँले आफैँलाई चिनिसकेको छैन !


म वायु हुँ ? हैन, म वायु हैन,

मलाई कसले महशुस गर्छ ?


म जल हुँ ? हैन, म जल हैन,

म कहाँ अभिषेक गरिन्छु र ?


म माटो हुँ ? हैन, म माटो पनि,

म बाट को फल्दछ, को फुल्दछ ?


अस्तित्वमा छु भन्न डराईरहेका ओठ 

र बाँच्ने प्रमाण पेश गर्न काँपेको मुटु लिएर उभिएको

पक्कै केही त हुँ म !! कोहि त हुँ !! 

कतै त छु म !! कहीँ त छु !!

साच्चै,

म त नटिपिएको फूल हुँ,

मेरो सुगन्ध र सुन्दरताको कुनै चर्चा छैन !!


म त नहिडिएको बाटो हुँ,

मेरो गन्तव्य र निरन्तरताको कुनै ठेगान छैन !!


म त नमेटिएको याद हुँ,

मेरो आयु र आयामको कुनै सीमा छैन !!


म कहिँ कतै नपोखिएको भाव हुँ,

मेरो भार र संवेदनाको कुनै मूल्य छैन !!


म धेरैले वास्ता नगरिएको समय हुँ

मेरो गति र आवश्यकताको कुनै बोध छैन !!


चर्चा र ठेगान नभएपनि, 

सीमा, मूल्य र बोध नरहेपनि 


म नदी हुँ, विना विश्राम बगिरहन्छु !

म सुर्य हुँ, विना आग्रहले उदाउँछु अस्ताउछु !!


बुझ्दै छु मैले,

आश नै सकिए पो जिन्दगी लाश जस्तै हुदोरहेछ !

"धेरै" छैन कि जस्तो लागे पनि, "थोर-थोरै" त प्रशस्तै हुदोँरहेछ !!


- नि:शब्द


गजल अभिलेख


फरक फरक छन मान्छेका बिचार यहाँ ।।

कोहि अचानो छन्, कोहि छन् धार यहाँ ।।


नचिनेरै नदेखेरै बाचेका छन् बाँच्नेहरु,

हावाको पनि छैन कुनै आकार यहाँ ।।


मनले चिन्छ, मन मिल्छ र प्रिय लाग्दछ,

गौण हुन्छन् आवरणका श्रङ्गार-पटार यहाँ ।


वास्तविकता के हो बुझ्न गाह्रो हुँदै गयो,

हल्लै हल्लाको पछि चल्याछ बजार यहाँ ।


दौडेपनि घिस्रेपनि पुग्ने मृत्यु सम्म नै हो,

के पाउनलाई किन गर्नुछ हतार यहाँ ।

चित्तै बुझ्दैन कुरा, कतिपय मिल्दै मिल्दैन ।

मानिसको मन सयमा सय मिल्दै मिल्दैन ।


बाबू नडराउ तिमी त देश बचाउन जादैँछौ 

पराजयको डरले विजय मिल्दै मिल्दैन ।


बैँसले व्यस्तता भिराईदियो छोराछोरीलाई

आमाबा'सँग बोल्ने समय मिल्दै मिल्दैन ।


चुनौति हो, झुप्रोमा हुर्केर चम्किन खोज्नु,

हावाहुरीमा टुकीको लय मिल्दै मिल्दैन ।


छुटेको साथ,टुटेको मन र फुटेको भाग्यले

कहाँ मिल्छ जुटेको अभिनय मिल्दै मिल्दैन ।


ऐश आरामले महलमा बस्नेहरुले लेखेको,

पढ्नुस, गरिबीको परिचय मिल्दै मिल्दैन ।

नहोस् पापी मन, निश्चल लागिरहोस् ।

चाहन्छु म माया हरपल लागिरहोस् ।


गन्ध नफेरिओस्, स्वाद नी नफेरिओस्

यही माटो र हिमाल अटल लागिरहोस् 


हारेपनि म एक, हजारौको जीत होस्

आफूँलाई, म आँफू सफल लागिरहोस् ।


झरिरहोस् थोपा, पथ्थर गलिरहोस्,

लाग्नेलाई शीतझैँ कोमल लागिरहोस् ।


यो अमूल्य जिवन, यसरी नै वितोस् 

नमरुन्जेल बाँच्ने तल्तल लागिरहोस् ।

अस्ताउनु पुर्व, उ त्यो परदेशमा, सदा-सदालाई

भनेथ्यो सारी, फेर्दिने इच्छा, थियो आमालाई


हेर्नुस त उ, थकाई मारेर, पुन: दौडिन सक्यो,

बाटो बाटोमा, कसले उभ्यायो, यी चौतारालाई


बाटोमा काडाँ, बिछाउनु अघि, खबर गर्दिनु प्रिय,

ताकि पत्थर, बनाउन सकुँ, म मेरा पैतलालाई


श्रीमान्, खुट्टा, भएरै बैरीले, मेरा खुट्टा तानेका हुन,

अब संरक्षण, गरीयोस् बरु, खुट्टा नभएकालाई


भाच्दियौ लौरो, जुन बाचुन्जेल, बा'को सहारा बन्यो,

सोचेँनौ सहारा, बन्न सक्ला, कयौं बा'जस्तालाई

के होला दिनदुखी गरिबको निम्ति भलाई भन्नुहोस

एउटा त त्यहि हो मन्दिरबाट भगवान नहटाई भन्नुहोस


दुर्गमदेखि राजधानीसम्म सकुशल विरामी ल्याईपुर्याउन,

हेल्लो डाक्टर साहेब ! के खुवाउनपर्छ?दबाई भन्नुहोस्


रुदैँ भनि बुढीले विमानस्थलमा रातो बाकस देखाउदैँ,

के रोज्नुन्छ हजुर `विदेश´ कि `स्वदेश´ रोजाई भन्नुहोस


चेली लुटिदाँका प्रत्यक्ष नजर सत्य भएनन अदालतमा,

तपाइलाई कसले कति दियो र भन्यो,`नाई भन्नुहोस'


सबैको नजरमा राम्रो हुन कहाँ सकिदो रहेछ र हजुर;

हामी मित्र बन्नेकी दुश्मन बनाउनुहुन्छ तपाईं भन्नुहोस्

केही खाँचो छैन, गर्दै नगर्नु परामर्शका कुरा ।

उ जान्दछ दु:ख-पीरका कुरा, हर्षका कुरा।


गहिराई सम्झ, अनि बहुमुल्य मोतीलाई सम्झ,

उचाईमा पुग्नासाथ किन गर्छौ उत्कर्षका कुरा।


कि हुरीमा दियो, कि कर्कलो माथि पानी झैँ हो,

भाव नहुनेसामु मायामोहका कुरा, स्पर्शका कुरा।


सेकेण्ड,मिनेट,घन्टा,दिन,महिना नगन्नेलाई,

ए समय खै के सिकाउछस् वर्ष-वर्षका कुरा।


पत्थरको छाती चिरेर हुर्केको पीपलको अगाडी,

अचम्म लाग्छ, खिर्रोले गर्दा सङ्घर्षका कुरा ।

यादै आईरहे पो हिजो हिजो रहन्छ ॥

विगतका हरेक सम्बन्ध मीठो रहन्छ ॥


सम्झिने बहाना हुनसक्छ कुनै पलमा,

राखिराख तस्बिरहरु चिनो रहन्छ ॥


सेतो कपडा जस्तै हो विश्वास पनि,

दाग लागेपछि कहाँ चम्किलो रहन्छ ॥


प्रिय, तिम्रो प्रेम जीवनमा यसरी रहन्छ

जसरी रुख नढलेसम्म धमिरो रहन्छ ॥


पत्थर हुँ म भने पत्थर नै रहिरहुँ,

जसको नाम लेखिन्छ, दिगो रहन्छ ॥

कोहि सोझो साधारण, कोहि डाँकु डन् छ मान्छे ।।

कोहि त साह्रै पटमूर्ख, कोहि सज्जन छ मान्छे ।।


रिस, राग, डाह, क्रोध मनभरि नै सँगालेर,

जगतकै विवेकी प्राणी मै हुँ भन्छ मान्छे ।।


दुई चार सिढी अरुको आडमा चढ्छ बल्लतल्ल,

अनि आफुले आफुलाई महान सम्झन्छ मान्छे ।।


यहाँ कति अप्ठ्यारो छ, आफ्नै हुँ बुझाउनलाई,

पराई फेरी विना कारण सजिलै बन्छ मान्छे ।।


फलानो यस्तो, फलानो उस्तो जताततै, आखिर

कसैको वास्तै नगरी कतिन्जेल रहन्छ मान्छे ??

सोचेको हौला भगवानले अनायसै निगाह गर्छन ॥

उनले पनि पहिला तिम्रो भाग्यसँग सल्लाह गर्छन ॥


तिमीले जीतेको खबर यहाँ तिमीसितै घर पुग्छ,

हारको खबर दुनियाँले क्षणभरमै प्रवाह गर्छन ॥


ए दिमाग यी आँखालाई एकपटक त सम्झाइदिनु

जुन नसिबमा छैन कहिल्यै त्यहिँ किन चाह गर्छन् ॥


कयौँ चोट खेपेपछि मात्र ढुङ्गा एउटा मूर्ति बन्छ

तब सम्झिनु जब मार हान्ने प्रयास अथाह गर्छन् ॥


फाल्नेहरुले सोच्दै नसोची हिलोमा फालेर गए,

अहिले फुलेको छु कमल बनेर, उनैले डाह गर्छन् ॥

खै त केही सुरसार गरिनौ लगन गइसक्यो ।

दुई एक हुने बिचार गरिनौ लगन गइसक्यो ।


पच्चिस वर्ष म भैसके तिमीनी बीसकी भयौ,

यो वर्ष पनि हतार गरिनौ लगन गइसक्यो ।


उदाएको बैँस तिम्रो, अस्ताउनै लागिसक्यो,

कठै बैँसको उद्दार गरिनौ लगन गइसक्यो ।


तिम्रो रुपले बेहोस् बनी नचलबलाईरहँदा नी,

ए, सिकारी सिकार गरिनौ  लगन गइसक्यो ।


हातमा सिन्दुर बोकेर म प्रतीक्षा गरिरहेको छु,

प्रिय, तिमिले शृङ्गार गरिनौ  लगन गइसक्यो ।

मोड पनि अनेक हुन्छन भुवाहरुको ।।

हावै त हो मार्गदर्शक उडुवाहरुको ।।


दोबाटोमा भेटिएका धेरै दोबाटोमै छुटिगए,

अहँ नहुदोँ रैछ यहाँ भर बटुवाहरुको ।।


केही थप्नलाई केही निकाल्न पर्ने हुन सक्छ,

क्षमता सिमीत हुन्छ प्राय: कुवाहरुको ।।


प्रयास गर,प्रयोग गर,लागू गर व्यवहारमा,

नत्र नतिजा गलत आउछँ हचुवाहरुको ।।


नभेट्दै गन्तव्य मख्ख नपर्नु ए खरायाज्यूहरु,

कहाँ छिट्टो हुन्छ र दौड कछुवाहरुको ।।

चाहेँ होस् गलत नै,चाहे होस् सहि केही लाग्दैन ।

किन कसैकसैलाई आफुभित्र कमि केही लाग्दैन ।


तिमी घोडा चढेर आयौ,उ हत्तपत्त धुरी चढ्न गयो,

बुझिएकै हो डाह गर्नेहरुको अघि केही लाग्दैन ।


आउ ! छर्लङ्ग बुझाउछु तिम्रो र मेरो सम्बन्धलाई,

तिमी टाढीयौ भने संसार जीतेपनि केही लाग्दैन ।


प्रिय, तिमी प्रेमको आखाँले यो प्रेमीलाई हेरीदेउ,

त्यसपछि त गाउँले होस् या सहरी केही लाग्दैन ।


बाचुन्जेल सम्मै त रैछ आँसु र हासोँको लुछाचुडि,

मृत्यु सम्झनुस त मित्र,यो जिन्दगी केही लाग्दैन ।

के का लागि काटाकाट हो, के को लतारपछार हो ।

मृत्यु सम्मको जीवन-यात्रामा किन यति हतार हो ।


कि सबैले जित्नुपर्छ, कि त सबैले हार्नुपर्छ यहाँ,

नत्र, कसैको जित पनि त कसैकसैको हार हो ।


मलाई अरुको मतलब छैन, म बाँच्नुपर्छ भन्नुहुन्छ, 

समानताको भाषा बोल्नेको यो कस्तो बिचार हो ।


तल्लो तलामा भएपनि उ छतमा गएर मात्र बोल्छ, 

महल हुनेहरुसँग क्या, अचम्मको अह‌ङ्कार हो ।


चिन्ता नगर्नु उघाउनेले जति उघाइदिएता पनि, 

भरिने त आखिर आ-आफ्नो क्षमता अनुसार हो ।

देखिनौ परिश्रम,ऋणैऋणको माझमा मात्र देख्यौ ।।

सुखमा आइनौ र त दु:खी याममा मात्र देख्यौ ।।


खुलेर बोल्न कहाँ खुलश्त हुन्छ र दुखेको मुहार

कहिले देख्यौ र स्पष्टता? लाजमा मात्र देख्यौ ।।


देख्नेले त सपना देखे जिम्मेवारी देखे उ सहर छिर्दा,

तिमीले हातमा गुन्द्री,बोरा काँधमा मात्र देख्यौ ।।


अव्यक्त थियो व्यक्त भयो फेरि अव्यक्त हुनेनै छ,

सुस्त,मस्त जिन्दगी उस्को हतारमा मात्र देख्यौ ।।


उ अध्यारोँ छिचोल्नकै लागि जुनकिरी बनेको हो,

तिमीले उज्यालो घामजुनको साथमा मात्र देख्यौ ।।

म फर्केर आउँदीन अब तिम्रो जिन्दगीमा ।

पागलपनले पनि नाघिसक्यो आफ्नो सीमा ।


पुन: माया व्युँताउदिन, जोड्दिन कोहिसँग नाता,

ठेस पुर्याउन्न जानीजानी भैगो आजादीमा ।


विस्तार विस्तार विर्सनेछु म हाम्रो सम्बन्धलाई,

सँगालेर विगतका याद नपठाउनु बाडुल्कीमा ।


हुनु छैन मदन मलाई, हुनु छैन रोमियो पनि,

नहुँ म कहिँ कतैपनि लेखिने प्रेम कहानीमा ।


एउटा अपिल यो पागलको दुनियाँले सुनिदिनु

पिपल सँगै वर अब नरोपिदिनु चौतारीमा !

मौलाउला कि नमौलाउला जिन्दगी,गोडेर आएपछि ।।

खै के सोच्दैछ वेवारिसे यात्रु गन्तव्य,मोडेर आएपछि ।।


जबरजस्ती जस्को चल्थ्यो हिजो अनि अस्तीपनि

के आश भोलि उसैले नेतृत्व,ओडेर आएपछि ।।


छोराछोरीको पोल्टामा न्याय कतिजती पर्यो होला  

भर्खर बाआमाले न्यायलयमा नाता,तोडेर आएपछि ।।


पत्र आयो,जागिर त खायो,उ खुसी होस या दुखी

जग्गा बेची धन बुझाई दुई हात,जोडेर आएपछि ।।


मन्दिर के माग्न गयो खै उ,जहानसङ्गै अत्तर छर्केर

आफ्नै बाबु आमालाई वृद्धाश्रम,छोडेर आएपछि ।।

आजकल जसोतसो दिन फाल्ने, बानी हुँदै छ।

मेरो दिनचर्या यहाँ सबैलाई, कहानी हुँदै छ ।


भैगो साथी भो नसोधीदेउ मेरो हालखबर,

यहाँ प्राण पनि शरिरसगँ, बैमानी हुँदै छ ।


बाहिर नदेखिने तिमीले, दिलमा बनाएको घाउ ,

खाता बसेर हाम्रो नाताको, निशानी हुँदै छ ।


नाई ! पर्दैन रोक्नलाई,देउ यी आशुँ बग्न देउ,

आखामा सजाको झुटो आश, पानी हुँदै छ।


भो नडराऊ ! तिमी, मुटुको तिव्र धड्कन सुनेर,

भित्र त तिम्रै यादहरुको, ढुवानी हुँदै छ ।


विज्ञलाई मुर्खले बाटो देखायो, तिमिलाई देखेर

मुर्दाले पनि शिर उठायो, तिमिलाई देखेर


अचम्म र चमत्कारले सीमा नाघिसक्यो यहाँ 

ढुङ्गे मुर्तिले आँखा खुलायो, तिमिलाई देखेर


माथि लोकमा भगवानहरु अलमल्लमा परे अरे

जब चित्रकारले तस्वीर बनायो, तिमिलाई देखेर


मधहोसीमै झुमेका छन यो धर्तिका सबैसबै

घाम मुस्कुरायो जुन लजायो, तिमिलाई देखेर


हो, हिजोआज मन्दिरहरु पनि अचम्ममा छन्

जब साधुले खरानी मेटायो, तिमिलाई देखेर

अन्धकार हुन्छ, के गर्नु उज्यालो पनि आउनुपर्छ !!

बाध्यता हो छाना छाउँदा चुहिनेगरी छाउनुपर्छ !!


चाहेर पनि चर्को स्वर यहाँ गर्न सकिदैन महोदय

समय गाउँछ जुन लयले, उहि लयमा गाउनुपर्छ !!


वर्तमानले भविष्यसँग यतिसम्म त भन्न सकोस्

मेरा दुखेका हर बिगतले क्षतिपूर्ति पाउनुपर्छ !!


विन्ती छ, यो वास्तविक खुसी कैद गर्दिनुहोला 

नत्र फगत हाँस्न मात्र पनि काउकुति लाउनुपर्छ !!


ढुङ्गा त हो,कदापी नसोच्नु ढुङ्गा नै रहिरहला

जुनदिन कुदिन्छ ईश्वरको रूप, पुज्न धाउनुपर्छ !!

जे जे हुनेछ यहाँ एकदम ठीक हुनेछ ।

हामी दुईको दुरी झन् झन् नजिक हुनेछ ।


विश्वास हामीमा बलियो छ,भर झनै दह्रो,

दैनिक पर्दैन भेटघाट यहाँ मासिक हुनेछ ।


प्रविधिले उछाल हाने पनि प्रेम पत्रबाटै,

यो शताब्दिमा हाम्रो माया युनिक हुनेछ ।


डेटिङ बस्न छ स्पेशल आफ्नै रोधी साझँ,

सुन्दा सबैलाई यो कहानी मौलिक हुनेछ ।


छुट्टीनु पर्दैन अरुजस्तो, रुनु पर्दैन हामी

सब परिवारको सहमती मुताविक हुनेछ ।

सोचिन्छ एउटा तर गर्दा अर्कै गरिन्छ भन्छन ।।

अनि जिन्दगी सोचे जस्तो त हुदोँरहिन्छ भन्छन ।।


बर्षौ खोली उँधै बगिरह्यो, फर्किदैँ फर्किएन, 

मान्छेहरु अझै बाह्र बर्षमा त फर्किन्छ भन्छन ।।


वर्तमानमै उज्यालो देखिन्छ देखिन्न थाछैन,

भन्नेहरु, भविष्य पनि छर्लङ्ग देखिन्छ भन्छन ।।


छन् सागरले प्यास मेटाउन नसक्नेहरु पनि,

कोहि शितका थोपाले प्यास मेटिन्छ भन्छन ।।


हार्नेहरु हुन, एउटा छेउसँग पनि डराईरहने,

जित्नेहरुले त पुरै संसार जितिन्छ भन्छन ।।

यात्रा जारी नै छ, टुङ्गिएको छैन ।

नदि बग्दैछ, सागर भेटिएको छैन ।


प्रिय, तिम्रो प्रवेश त यसरी भैदियो कि,

आफ्नो खुसीले मुटु धड्किएको छैन ।


जुन दिन मनले म माथी नै प्रश्न उठायो,

त्यो दिनदेखि म को हुँ सम्झिएको छैन ।


पाइदैन जस्तोसुकै प्रयासहरु गर्दा पनि,

जुन कुरा यो भाग्यमा लेखिएको छैन ।


उध्रीएपछि सझिरहन बहुत गाह्रो हुन्छ,

धन्न तिम्रो जीन्दगी त उध्रीएको छैन ।

गरिब हुँ म भन्ने थाहा नहुन यो संसारलाई ।

महोदय मैले सँगाल्न पर्ला कति हजारलाई ।


उ हातमा ठेला लुकाएर पदक उचालिरहेछ,

दुनियाँ कारण बनाईरहेछ ठुलो निधारलाई ।


अहँ अघाउदैन त्यो ऐना म ठोकुवा गर्दिन्छु,

जसले देखाउन पाइरहेछ तिम्रो मुहारलाई ।


परिभाषा अभावले फरक बनाइदिन सक्छ, 

नत्र किन भन्छन कोहि घर हो ओडारलाई ।


लामो श्वास फेरेर बाबू सधैँको लागि निदाए,

छोरो सुम्पिएर आएपछि दुबई, कतारलाई ।

उस्तै रहदैँनन् इच्छा चाहना पाइसकेपछि

भोक कहाँ भोकाउँछ र अघाईसकेपछि ॥


स्वार्थीको नाममा यतिसम्म हुदाँरहेछन् मान्छे

लौरी बिर्सिन्छन् उकालो कटाईसकेपछि ॥


अत्यार नमेटिदैँ फर्केर गईहाल्यौ किन तिमी,

एक्कैछिन त बस्नुपर्छ नि आइसकेपछि ॥


कसले गन्छ तपाईलाई रित्तो हात फर्किदा,

नतिजा लिएर फर्कनुस यार धाइसकेपछि ॥


जे सिकायौ त्यहिँ नै सिके, सम्झिरहन्छु मात्र

बिर्सिन पनि सिकाउनुपर्थो सिकाईसकेपछि ॥

केहि कविताहरु


भगवान,

तिमीले रङ्गीन उपमा दिएर पठाएको यो दुनियाँ

मलाई रङ्गीन...अहँ लाग्दै लागेन

यहाँ त

सपनाहरु,

इच्छाआकाङ्क्षाहरु सगैँका भविष्य अपहरण हुदाँ रहेछन्

सम्झनाहरु,

यादहरु सगैँका बिगत बन्दीमा राखिदा रहेछन्

बिचारहरु,

सोचाइहरु सगैँको बर्तमान नङ्गाइदा रहेछन् 

अनि 

तिमीले दिएको यो अमूल्य जीवन

लुट्दा रैछन् ,

चुस्दा रैछन् ,

निचोर्दा रैछन्,

थिचोर्दा रैछन्,

अनि फालिदिदाँ रैछन् 

कहिले एउटा खुलेयाम मैदानमा त कहिले एउटा सुनसान चोकमा

हरण गरेको जिन्दगीलाई

यहाँ कुनैपनि सत्यले सत्य सावित गराउन नसकिदोँ रहेछ !

हो भगवान्

यहाँ सत्यको थुप्रोमा झुट केलाउनेहरुको भिड लाग्दो रहेछ !


खै के अभिप्रायले म तिम्रो रङ्गीन दुनियाँलाई रङ्गीन देखुँ

यहाँ फूलको बोटले फूल फुलाउन लाज मान्दो रैछ

यदाकदा फुलाईहाले पनि 

भमराको सामिप्यतामा खोट झल्कने रैछ

मालिको अभिभावकत्वमा लोभ पल्कने रैछ 

काडाँकै मनशायमा अनायशै भ्रष्टपन सल्किने रैछ

हो भगवान्

यो दुनियाँमा भर्खरै फक्रेको फूल ओइलीन बाध्य बनाइदो रहेछ !


भैगो भगवान्

म यो रङ्गीन दुनियाँमा ती रङ्गहरु भेट्दै भेटिन

जुन रङ्गहरु तिमीले मेरा आखामा भरेर पठाएका थियौ 

ती सोच भएकाहरु देख्दै देखिन

जुन सोचहरु तिमीले मेरो मनमष्तिस्कमा भरेर पठाएका थियौ 

यहाँ बदल्न खोजिएका बदलिदा नरैछन

बरु बदल्न खोज्नेहरु नै बदलिइसक्दा रैछन 


पुग्यो भगवान मलाई पुग्यो

मात्र एउटा विन्ती सुनिदेउ

यो जालीझेली दुनियाँको

कुनै पनि रङ्गले मलाई नरङ्ग्याउदै 

तिमीले भरिदिएको रङ्ग भेट्न 

अनि त्यस्तै सोच भएका देख्न सकिने दुनियाँमा लगिदेउ न !

भगवान तिमीलाई मेरो एउटा विन्ती ।।।।

यो समयमा

म अन्योलताको भूमरीमा छु


आस्थाले अडिएको बुढो रुखको

भत्किएको गुँडमा छु

माउ छन छैनन थाहा छैन, दाउ र घाउ अनेक छन

साथ छ छैन थाहा छैन, घात र लात प्रशस्त छन 


उडी जाने सपना 

खै कसरी राखुँ म 

गुलेलीका मट्याङ्ग्रा आत्तुर छन् 

पखेटा चुँडाईदिन 


आफ्नै गुँडमा पनि त

कसरी बसुँ म 

कालरुपी सर्प तम्तयार छन्

विषालु दाँतका डाम बसाउन 


उडानको निषेध देखि

विश्रामको वन्दीसम्म 

शिकारी हुन या सर्प मेरै पछि पछि छन्


हावा, पानी, असिना र चट्याङ्गभन्दा

रिस, डाह, घमण्ड र अहंकार देखि डर लाग्छ


साँच्चै,

एक जुनी आयु आनन्दले विताउन

कति जति श्वास त्रासमा फेर्नुपर्दछ ?? 

त्यो दिन

सायद, मेरी आमा त्यति धेरै खुसी पनि भैनन होला, 

जति खुसि मेरो भाइ जन्मिदा भएकी थिइन !!

रपनि `ए मेरी नानी´ भनेर बीस एक्काइस महिना पश्चात् 

मेरी आमाले बोलाउदाँ,

म आवाजबिहिन मुस्कुराए मात्र रे 

त्यहि एक दिन थियो कि,

म मुस्कुराउदाँ पनि मेरी आमा हासीँनन् होला सायद ।।।


बीस, बीस महिनासम्म मेरो बोली कुरेर

तातेताते गर्दै मलाई हिड्न सिकाएका मेरा बाका हत्केलाहरु

खुसी भएका थिए होलान् कि नाई ??

जब म मेरा कोमल हातका इशाराले बालाई बोलाउन जान्ने भएकि थिए !!


हजुरबाले 

बोत्तलबाट दूध चुसाइरहदाँ

मुखको दायाँबायाँ चुहिएको दुध समेल्न 

जिब्रो दायाँबाया डुलाउदाँ,

दुनियाँले माया गरेर 

यस्को जिब्रो त भगवानले बनाएकै हुन

हेर्नुस त,कत्ती मिलेको छ नि भन्ने गर्थे रे !!

त्यहि सुनेर फुर्किएका

मेरो आवाजलाई पर्खिएका मेरा हजुरबाका कान,

हिजोआज नजिकै गई कोट्याएर बोलाउनु पर्दा खुसी होलान् कि नाई ??

एक्लै छाड्दा रोइरहन्छे भनेर

निक्कै चाखले मलाई काखमै लिएर मेलापात गर्ने 

मेरी हजुरआमाको काख खुसी भए होला कि नाई ??

जब मेरो मुखबाट निस्कने आवाज मात्र रुवाईहसाईको हो भन्ने थाहापाउदाँ !! 

अँ..अहिले बल्ल बुझ्दैछु,

साच्चैँ सबै सुन्दर भनिएका बस्तुहरु मात्र मुल्यवान् नहुदाँ रैछन

र अरुको मन दुखाउन नजान्नेहरु आफ्नो मन खुब दुखाउदाँ रैछन् !!


छोरी जन्मीछ भन्दानै हर्षिएका 

मेरा जन्मजात वैरीहरु 

झन बोल्नै सक्दी रैइन्छे भन्दा त

छाती फुलाएर, 

मेरो कारणले चुहिने भएको

परिवारको कमजोर धरातल माथी

पलपल बर्सिएका थिए होलान् ।

तर याद गर्नु धेरै चोट खाएको माटोले झन् बलियो मुर्ती बनाउन सक्छ ।

नभएका हैनन्

छन्,शब्दहरु त मसगँ पनि छन् ,

तर शब्दले कसैलाई चोटहरु नभिराईदिओस्

छन् बाटाहरु त मसगँ पनि छन् 

तर बाटाले कहिल्यै गन्तव्य नबिराईदिओस् 

छ हिम्मत त मसगँ पनि छ

तर हिम्मतले कदापि डर नढकढकाओस्

छ लक्ष्य त मसगँ पनि छ 

तर किन्तु लक्ष्यले क्षमता नटकटकाओस्

त्यसो भैदियो भने,

म मेरी आमाको कोखको खुसि ;

मेरा बाबाको हत्केलाको मेहनत ;

मेरा हजुरबाबाको शुभ श्रवण इच्छा ;

मेरी हजुरआमाको काखको अनमोल ऋणलाई,

त्यहि दुनियाँसामु परिचित बनाएर

एउटा गतिलो सम्मान दिनेछु 

र यहि दुनियाँलाई इशाराले मात्र एउटा प्रश्न गर्नेछु

आफ्नो क्षमता देखाउन नसक्ने चिजको क्षमतालाई

उहिल्यै चिनिसकेका

ए सहयोगी मनहरु,

अब मलाई मात्र यो बताईदेउ कि

``म आफ्नो परिचय बोल्न सक्ने भए कि नाई ??´´

तिमी आउनु

खुलेको आकाशसगैँ 

निलो स्पष्टता सापटी लिएर

उदाउँदाको सूर्यसँग

सुनौलो वैश पैँचो मागेर


म पनि आउनेछु

प्रकृतिको

प्रफुल्ल भै फुलेको लालिगुराँसको रातो जवानीसितै

सगाँलेर हिमालको सेतो सुन्दरता,

बेफिक्री मै फक्रिएको प्याउलीको पहेँलो उमेरसितै

छोपेर पहाडको हरियो सुगन्ध,

निर्दोश झै तैरिरहेको कमलको गुलाबी जोशसितै

च्यापेर तराईको बैजनी स्नेह,

पोको पारेर

कालो बादलको सम्पुर्ण ईष्या केही लोलामा

हामी ढुक्कसाथ मनाइदिउला नी होली

अथाह पुर्णता बोकेर पनि अहमता नभएको

खुलम खुल्ला धर्तीको फराकिलो छातीमाथि

पुरै शरिर रङ्गिने गरेर


त्यतिबेलै तिमीले

नबिर्सीकन नियाल्नु है 

यो दुनियाँको अनुहारको रङ कस्तो हुदोँ रैछ ??

किनकी तिमिलाई

बुझाउनु छ,

प्रिय, तिमीले बुझेकै छैनौ

उही रङ-रङ बिचको फरक !!!

पाँच बर्षीय बालिका

आफ्नै अभिभावक बाट 

असुरक्षित भएपछि नै हो;

त्यो माछीलाई पानी मन पर्न छाडेको !!


ऊनै फुलमाया दिदीको

सामुहिक रुपमा बलात्कार भएदेखि नै हो

त्यो रानीमौरीले घार छाडेर हिडेको !!


र हिजोआज पुतलीहरु फुलको छेउ जान डराउछन्,

चुपचाप देखिन्छन् ती झ्याउकिरीहरु,

भ्याकुताले ट्वारट्वार गरेर बोलाउन सक्दैन आफ्नो जोडीलाई,

अनि निस्कनै मान्दैन जुनकिरी अध्यारोँ रातमा !!


सर्वश्रेष्ठ,बुद्धिमानी प्राणीको

त्यस्ता,यस्ता,उस्ता

तुच्छ,घटिया,निच

कयौ,धेरै, थुप्रै कुव्यवहारले गर्दा

प्रकृतिमा ठुलो परिवर्तन देखिन थालेको छ,

सायद, अब रातमा जुन उदाउदैन होला ।।

जब सेलाएको थ्यो

दिनभरी बैंशले राप्पिएको त्यो रातो घाम 

हिजोअस्ती जसरी नै 

त्यो पश्चिमे अटल क्षितिजमा,

त्यतिबेलै जन्मिएको थियो

एउटा नचाहिएको नसम्झन लायक साँझ !!


त्यहि साँझले रचेको थियो 

एउटा तितो कहानी;

जतिखेर तिमीले पैंचो लगेजसरी फिर्ता गर्न आएकी थियौ 

मलाई मायाको अनमोल उपहार;

जुन अहिले सम्म पनि त्यो साँझ नचाहेरै सम्झिदाखेरी

मेरा गहभरि टिलपिल टिलपिल रमाइरहन्छन 

अनि फदालिदिन्छन अनायसै तप्पतप्प

तिम्रो शिरमा राखेर कसम खाएका यी 

निर्दोष हत्केलाहरुमा ।

त्यतिबेलै भक्कानिएका थिए तिम्रा मेरा सुन्दर सपनाहरु, 

छुट्टिएका थिए तिम्रा मेरा परिचित वाटोहरु,

टुक्रिएको थियो हाम्रो संयुक्त गन्तव्य,

र त 

हिजोआजका साँझहरु पनि अजीव लाग्ने गर्छन ।।


हाम्रो सम्बन्धको अतितमा परेड खेलिरहेको

त्यो सिङ्गै रात निदाएपछि नै हो 

पुर्वि क्षितिजबाट संसार उठाउदै जन्मिएको,

नचाहेर पनि सम्झिइरहने बिर्सनलायक दिन ।


जतिबेला तिम्रो सिउदो रंगियो,

तेतिबेला मेरो प्रेम बिधवा भैदियो ।।

तिम्रो जिन्दगी जोडियो,

मेरो समय भाच्चीएर टुक्रा टुक्रा भैदियो ।।

मैले देखेथे,

तिमी अन्जानको डोली चढ्दा कापेथे ती पाईलाहरु 

जुन रङ्गिएका त थिए तर चङ्गिएका थिएनन ; 

ती बचेरा आशुहरुका ढिक्काले चिस्साइरहेका थिए ती गाजलु नयनहरु,

जुन पोतिएका त थिए तर ओतीएका थिएनन;

तर के गर्नु 

हर क्षितिजले धोका दिएपछि भुगोलमा प्यारो भन्ने चिजनै नरहदाँ रैछन ।


हेर त निष्ठुरी,

कस्तो बानी पो बस्याछ ,

म असफल भएनी अनुभवी हुन खोज्दैछु !! 

साच्ची दिलदेखी चाहेर लाइएका सम्बन्धले नचाहिएका यादहरु छोड्दा रैछन नी है।।

इमान्दारिताको बलेनीबाट

सगाँलेर कमजोरीका केही छिटाहरु,

जिईसकेको जिन्दगीको अभिलेखबाट

अगाँलेर बैरिका अलिकति साथहरु, 

श्रीमान, 

मलाई चुडाइएको हो

र मलाई चुड्ने प्रिय मनहरुलाई

मेरो तर्फबाट यति त भनिदिन मिल्ला नि है,

'उ चुडिएको हो तर उसको पुन: पलाउने आश चुडिएको छैन !'


निरन्तर पैताला हिड्ने पथमा 

उठाएर अवरोधका अग्ला पर्खालहरु,

भविष्य चियाउने बर्तमानको डिलमा

जुटाएर धकेलिदिने अलिकति हातहरु,

श्रीमान्, 

मलाई लडाइएको हो

र मलाई लडाउने प्रिय सोचहरुलाई

मेरो तर्फबाट यति त बोलिदिन मिल्ला नि है,

'उ लडेको हो तर उसको फेरि उठ्ने सामर्थ्य लडेको छैन !'


कोमल हृदयको पृष्ठभुमिमा

हिर्काएर बारम्बार अनेकौ प्रहारहरु

सफलताको निर्णायक मण्डलमा

जम्मा पारेर जालझेलि कुरुप अनुहारहरु

श्रीमान्, 

मलाई हराइएको हो 

र मलाई हराउने प्रिय मतिहरुलाई

मेरो तर्फबाट यति त सुनाईदिन मिल्ला नि है

'उ हारेको हो तर उसको जित्ने सङ्कल्प अझै हारेको छैन !'


तपाईले

यति भनिदिनु भयो भने

यति बोलिदिनु भयो भने

यति सुनाईदिनु भयो भने

श्रीमान,

म छाती फुलाएर भन्न सक्छु

अब उप्रान्त यो कठघराबाट `न्याय´ चिच्याउने छैन ।।

प्रिय शहर,

तलाई अप्रिय श्रदाञ्जली !

तैले मेरा कयौ भ्रुण सपनाहरुको बिभत्स हत्या गरिदिई 

मलाई नै समवेदनाको पत्र थम्याएको छस्

तलाई भावपूर्ण श्रदाञ्जली !!

तैले मेरा कयौ शाहसहरुलाई गिरफ्तार गरि 

मलाई कायरको दर्जा भिराइदिएको छस् 

तलाई हार्दिक श्रदाञ्जली !!!


कठै मेरो गाउँ 

म फर्कदा सोध्छ होला 

तलाई मैले विश्वासको झोलामा कसक्क बानेर

मेरो छातीमा टेकाई टेकाई पठाएको थिए, 

खै त्यो विश्वास अनि

त्यतिका धेरै जिम्मेवारी खै हँ ??

कयौ सपनाहरुको घुईचोमा 

तेरो सपनाहरुलाई पनि पुर्णविराम लगाएर,

फर्कने बाचाका साथ उत्साहको लहरमा पठाएको थिए

खै ती सपनाहरु ?

खै ती उत्साह ?

बा-आमाका लाखौ आशिर्वादलाई 

सानो थैलिमा पोको पारेर 

जतनको साथ लिने भरोसा बोकाएर पठाएको थिए

खै ती वाचाहरु ??

खै ती भरोसाहरु ??


अहँ म भन्नै सक्दीन ,

यी निरुत्तर प्रश्नका उत्तरहरु

र भनुँ पनि कसरी 

म त्यी विश्वासको घातक हुँ !

म त्यी जिम्मेवारीको शोषक हुँ !

म त्यी सपनाहरुको हत्यारा हुँ !

म त्यी उत्साहको बाधक हुँ !

म त्यी वाचाहरुको तोडक हुँ !

म त्यी भरोसाको जालिक हुँ !

अनि बा-आमाका कयौँ खुसी आफुसगैँ ल्याएर 

मोतिरुपि आँशु वर्षात गराउन 

मनमा गडगडाहट ल्याउन मिल्कने 

केही पलको प्रकाश हुँ म !!

र मलाई त्यस्तो 'म' बनाउने,

ए ! शहर त नै होस् 


ए ! शहर तैले मेरो सबैथोक कुल्चीदिइस

लछारिदिइस्

र मारिदिईस पनि

त मेरो र मेरो गाउँको नजरमा मरीस्

त्यसैले,

 ए! शहर तलाई हार्दिक श्रदाञ्जली !!

भावपुर्ण श्रदाञ्जली ।।

गाँउ, 

मैले तलाई शहरदेखि खुब सम्झेको छु यार,

तैले मलाई सम्झेको छस् कि नाई ?


यता त

जताततै सडकहरुमा, 

हरेक गल्लि-गल्लिहरुमा, 

प्रत्येक घर-घरहरुमा,

अध्याँरोलाई अन्याय गरेर साँझ पर्नासाथ बल्छन् 

उजेला तर उत्ताउला बत्तीहरु !  

यी बत्तीहरुलाई के थाहा,

एउटा कुनामा अडिएर अध्याँरोसँग सहमति गर्दै-गर्दै

त्यता हरेक घरमा बल्ने दयालु टुकीहरुको शालिन चन्चलता !


त्यता त 

तैले सुनाउथीस् नी आवाजहरु;

- निभेको आश सल्काउन तल्लिन छुट्टै लय भएका ढुम्रीहरुको,

- आधा पेट पकाईरहेका कसौँडिमा ठोकिएका पनिँउहरुको,

- मेहनत मथ्थेर नतिजा तैराउन रिगिँरहेका मदानीहरुको,


 हेर न, यी आवाजहरु

 शहरले यतिका दिनसम्म पनि मलाई सुनाउन सकेको छैन ।।


त्यता त बसाँउथे बास्नाहरु;

- निस्वार्थ घर चम्काईरहेका रातो माटो र सेतो कमेरोहरुको,

- गोरेटोको शोभा बढाईरहेका लालुपाते र तारामण्डलहरुको,

- खुसी भर्साएर खुसीले निस्किरहेका बाँफका श्वासहरुको,


साँच्ची यस्ता बास्नाहरु

शहरमा आजका दिनसम्म पनि मैले सुँघ्न पाएको छैन ।।


तँ त आफैमा पूर्ण रैछस् यार !

धनि रैछस् यार !

साँच्ची शहरले हिजोआज 

तैले आफ्नो मन कुडाँएर पठाएका 'मन' हरुलाई खुब सम्झिरहेको छ !!


 तलाई एउटा प्रश्न सोध्दिनु भनेको छ शहरले

- अब फेरि कहिले पठाउछस् रे ??


(कोभिडको सन्दर्भमा लेखिएको)